29/04/2026
विश्व मौसम विज्ञान सङ्गठन (WMO) का अनुसार सन् २०२६ को मध्यदेखि 'एल निनो' (El Niño) प्रणाली विकसित हुने अनुमान गरिएको छ, जसले विश्वको तापक्रम र वर्षाको स्वरूपमा ठुलो असर पार्नेछ।यदि प्रक्षेपण गरिए अनुसार 'एल निनो' विकसित भएमा, यसले विश्वव्यापी तापक्रम बढाउन मद्दत गर्नेछ, जसले गर्दा गर्मीका नयाँ रेकर्डहरू कायम हुन सक्छन्। दक्षिण एसियाली देशहरूमा यसको प्रभावले मौसम बढी सुख्खा र तातो हुन सक्छ। ऐतिहासिक रूपमा हेर्दा, 'एल निनो' सक्रिय भएको वर्ष दक्षिण एसियामा मनसुन कमजोर हुने वा अनियमित हुने गरेको पाइएको छ, यद्यपि यसको असर ठाउँ अनुसार फरक-फरक हुन सक्छ।नेपालका लागि 'एल निनो' को आगमनले विशेष गरी मनसुनको स्थिरता माथि चिन्ता थपिदिएको छ। जलवायु विज्ञहरूका अनुसार 'एल निनो' ले निम्न क्षेत्रमा असर पुर्याउन सक्छ:
1. कृषि चक्र: खेतीपाती गर्ने समय र उब्जनीमा अवरोध।
2. जलस्रोत: पानीको उपलब्धतामा कमी।
3. ऊर्जा प्रणाली: खडेरीका कारण जलविद्युत उत्पादनमा ह्रास।
4. प्राकृतिक विपद्: कतै पानी नपर्दा खडेरी हुने त कतै अत्यधिक वर्षाका कारण बाढी र भौतिक संरचनामा क्षति पुग्ने जोखिम।
कृषि, जलस्रोत व्यवस्थापन, ऊर्जा र स्वास्थ्य जस्ता जलवायु-संवेदनशील क्षेत्रहरूमा क्षति कम गर्न मौसमी पूर्वानुमान अत्यन्तै महत्त्वपूर्ण हुन्छ। समयमै जानकारी पाउँदा सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सजिलो हुन्छ।
एल निनो सम्बन्धी थप जानकारी तलको भिडियो मार्फत बुझ्न सकिन्छ |
Sources: https://pmc.ncbi.nlm.nih.gov/articles/PMC8128151/; https://www.fao.org/4/ak340e/ak340e05b.htm; https://wmo.int/media/news/wmo-likelihood-increases-of-el-nino; https://wmo.int/topics/el-nino-la-nina; https://www.ecospherenews.com/detail/2012; https://kathmandupost.com/columns/2023/06/18/planning-for-el-nio