24/12/2017
अंग्रेज वैज्ञानिक चार्ल डार्विनले सन् १८५९ मा जातिको उत्पति नामको पुस्तक प्रकाशित गर्दै महत्वपूर्ण अवधारणाहरू अघि सारेका छन्। प्रत्येक सजीवमा अत्याधिक सन्तानोत्पादन गर्ने क्षमता भएको हुँदा सजीवहरूका सङ्ख्या अत्याधिक बढेर जान्छन्। यसबाट खान र बस्नको अभाव सृजना हुने हुदा सजीवहरू बाँच्नको लागि खान, बस्न, प्रजनन गर्न, रोग र वातावरणसँग निरन्तर संघर्ष गरिरहनु पर्दछ। संघर्ष गर्न सफल जीवहरू अर्को पुस्तामा जान सक्षम हुन्छन् भने संघर्ष गर्न नसक्ने लोप भएर जान्छन्। यो डार्बिनको बाँच्नको लागि संघर्ष सिद्धान्त हो।
डार्बिन थप्दछन्– संघर्षको क्रममा सजीव कति बाँच्ने भन्ने कुरा प्रकृतिले छनौट गर्दछ। बाँच्नको लागि आवश्यक गुणहरू विकास हुँदै जादा धेरै समयको अन्तरालमा सजीवमा नयाँ गुण देखा पर्दछन्। बढी उन्नतशील जीवको छनोट र कम उन्नतशील जीवको विनाश हुन्छ। यस प्रवृत्तिलाई प्राकृतिक छनोट भनिन्छ।
संघर्षमा विजयी बाँच्न सफल हुन्छन्। बाँच्न सफल सजीवका गुणहरू निरन्तर सन्ततिहरूमा सर्दै जाँदा धेरै वंशपछि पुर्खाहरू भन्दा फरक गुण भएका सन्तानको उत्पत्ति हुन्छ। यिनै सन्ततिहरूलाई नयाँ जातिको उत्पत्ति मानिन्छ।
उन्नाइसौँ एवं बीसौँ शताब्दिका विभिन्न वैज्ञानिकहरूले डार्बिनको विकासक्रमका सिद्धान्तमा आधारीत रही ‘नव–डार्विनवाद’को सिद्धान्त अगाडि सारे। यस सिद्धान्तमा जीवको विकासक्रमलाई क्रोमोजोम, डि.एन.ए वा जीनले नियन्त्रणमा राख्दछन् भनिएको छ। कुनै पनि एउटा मात्र क्रोमोजोम, डि.एन.ए वा जीनमा हुने परिर्वतनले उक्त जीवमा विविध आन्तरीक वा वाह्य परिर्वतनहरु ल्याउन सक्दछ। वातावरण मुताबिक क्रोमोजोम, डि.एन.ए वा जीनमा हुने परिर्वतनद्धारा जुन जीवमा सवल गुणहरु विकसित हुन सक्दछन् उनै जीव संघर्षमा बाँच्न सफल हुदछन्। निर्वलहरू अन्ततः अस्तित्वहीन भएर सिद्धिनेछन्। तथापि सबै जीवमा आफ्नो अस्तित्चको लागि संघर्ष गर्ने हुटहुटी भने निहित हुन्छ। यस सिद्धान्तलाई वैज्ञानिकहरू ई हेकेल, ए वीसम्यान, जे हक्स्ले, एस राइट, टी डोवजान्सकाई, जीजी सिम्प्सन, ई डब्लु मायर साथै जीएल स्टेवीन्सहरूले मान्यताका साथ व्याख्या गरेका छन्।