19/05/2026
पोखरामा फुटपाथमा पार्किङ गरेबापत सयौं सवारी नियन्त्रणमा, पैदलयात्रुको आवाज सुनियो
पोखरा, कास्की — मिति २०८३।०२।०४ र २०८३।०२।०५ गते जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पोखरा महानगरपालिकाका नगर प्रहरीको संयुक्त रूपमा चलाइएको विशेष अभियानमा न्यूरोड, सभागृह चोक, महेन्द्र पुल र चिप्लेढुङ्गा क्षेत्रमा फुटपाथमा अवैध रूपमा पार्किङ गरी रखिएका दुई पाङ्ग्रे सवारी साधनहरू नियन्त्रणमा लिइएको छ।
बिरामी, ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरू सहित सर्वसाधारणको हिँडडुलै असम्भव हुने गरी स्कुटर र मोटरसाइकलहरू फुटपाथमा पार्किङ गरी अवरोध सिर्जना भएको बारे व्यापक गुनासो प्राप्त भएपछि पटक–पटक महानगरपालिकाले माइकिङ गरेर सचेत गराए पनि समस्या नरोकेको पाइएको थियो। त्यसपछि मिति २०८३।०२।०४ र २०८३।०२।०५ मा समन्वित रूपमा सघन अनुगमन गरी ती सवारी साधनहरू हटाएर आवश्यक कानुनी कार्यवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
कारवाही विवरण:
मिति २०८३।०२।०४ गते: कुल ३८ वटा दुई पाङ्ग्रे सवारी नियन्त्रणमा लिई (३२ स्कुटर, ६ मोटरसाइकल)। आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ।
मिति २०८३।०२।०५ गते: त्यही दिनै ६३ वटा सवारी साधनहरूलाई On the Spot (स्थलमै) जरिवाना गरियो; साथै ६४ वटा सवारी (४९ स्कुटर, १५ मोटरसाइकल) नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाइएको छ।
प्रहरी तथा महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ कि यो अभियान निरन्तर जारी रहने भएकाले कोही पनि सडक पेटी तथा फुटपाथमा सवारी साधन पार्किङ नगर्न हार्दिक अनुरोध गरिएको छ। सूचनामा थप भनिएको छ — "फुटपाथ सँधै पैदलयात्रीको हो र पैदलयात्री सुरक्षित तवरबाट हिड्न पाउनु उनीहरुको अधिकार हो।"
नागरिकहरुका लागि सुचना:
फुटपाथ र सडक पेटीमा सवारी पार्क नगर्नुहोस्।
पैदलयात्री, ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिको लागि मार्ग खुला राख्न सहयोग गर्नुहोस्।
अवलोकन वा थप गुनासो भएमा नजिकैको प्रहरी कार्यालय वा महानगरपालिका सम्पर्क गर्नुहोस्।
यो समाचार अहिले नै शेयर गरेर आफ्ना परिवार, साथी र स्थानीय समुदायमा सचेतना फैलाउनुहोस्।