26/07/2026
कसैले किन्न नसकेको मान्छे
कसैले चिन्न नसकेको,
कसैले किन्न नसकेको,
जसले एकपटक चिनेको
उसैको हुन पनि
किन आनाकानी गरेको, जिन्दगानी?
एक दिन त खरानी हुनु नै छ,
त्यसअघि एउटा निसानी
किन नछोडेको?
एउटा साहस किन नबटुलेको?
एउटा आँट किन नगरेको?
यी झिना–मसिना कुरामा
सधैँ किन अल्झिएर बसेको?
सायद सबैलाई बुझाउनु थियो,
सबैलाई सम्झाउनु थियो
शब्दले पनि विश्व जित्छ,
हो,
शब्दले नै विश्व विजय गर्छ।
कहिलेकाहीँ लाग्यो,
दुःख नै भागमा परेको छ।
तर आज स्पष्ट देखेको छु
हरेक दुःखभित्र
एउटा पाठ लुकेको रहेछ।
आफ्नै मनको माला जपेर,
आफ्नै अन्तर्मनलाई सोधेँ
किन अड्किएको?
किन लजाएको?
यो मन पनि कस्तो!
कहिले ढुङ्गाजस्तो कठोर,
कहिले समुद्रजस्तो गहिरो,
कहिले मौनताभित्रै
हजारौँ युद्ध लडिरहेको।
यो कस्तो मौनता हो?
यो कस्तो आँट हो?
यो साहस हो,
क्षमता हो,
कि भगवानले दिएको
कुनै अदृश्य शक्ति हो?
भन्छन्
बाठाहरू स्यालजस्ता हुन्छन्।
तर मैले स्याल बन्न खोजिनँ,
किनकि मलाई छल गरेर होइन,
कर्म गरेर इतिहास लेख्नु थियो।
इतिहास रच्न बसेको महानायक
नालायकहरूको संसारमा
एउटा उदाहरण बन्न चाहन्छ।
जो टुटेर पनि
बारम्बार सम्हालिएको छ,
त्यसैले त
कसैले किन्न सकेन।
कसैले चिन्न सकेन,
कसैसामु झुक्न सकेन,
कसैको आदेशमा चल्न सकेन,
आफ्नो सत्यबाट
कहिल्यै पछि हट्न सकेन।
क्या लीला देखायौ, भगवान्!
न कुनै ठूलो किताब पढेँ,
न कुनै गुरुकुलमा बसेँ,
तर यो ढुङ्गा,
यो माटो,
यो बाटो,
यिनैबाट संसार पढेँ।
मानिसहरू भन्छन्
पत्थरमा केही हुँदैन।
तर मलाई सोध
यति धेरै ज्ञान
फेरि कहाँबाट मिल्यो?
आज आफैलाई देखेर
आफैँ अचम्ममा परेको छु।
बाटोमा भेटिने हरेक मान्छेलाई
आफ्नै सम्झिएको छु,
किनकि सबैजना
यसै महान् अध्यायको तयारीमा
बसेजस्तो लाग्छ।
खै किन हो
यो यात्रा अद्भुत लाग्छ,
यो अध्याय असम्भवजस्तो भएर पनि
पूर्ण हुन खोजिरहेको छ।
अब एउटा साहस देखाउनु छ,
एउटा कर्म पूरा गर्नु छ।
जीवनभर लेखिएको कथाको
त्यो अन्तिम खाली पाना
आज आफ्नै हातले भर्नु छ।
अब अड्किनु छैन,
अब लजाउनु छैन,
अब पछाडि फर्किनु छैन।
किनकि
जो टुटेर पनि उठिरहन्छ,
जो एक्लै भएर पनि हिँडिरहन्छ,
जो बिक्दैन, झुक्दैन, रोकिन्न
इतिहास अन्ततः
उसैको नाममा लेखिन्छ।