07/03/2023
सभामुख घिमिरेलाई झापाका सरकारी तथा संस्थान सवारी चालकले बुझाए नौ बुँदे ज्ञापन–पत्र
चन्द्र बस्नेत
कनकाई, २३ फागुन । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन जिल्ला समिति झापाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नौ बुँदे ज्ञापन पत्र बुझाएको छ । झापाको कनकाई नगरपालिकामा आयोजित सम्मान तथा बधाई कार्यक्रमको बीच चालक एशोसियसनका पदाधिकारीहरूले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन ।
कोशी प्रदेश झापा जिल्लामा सरकारी तथा संस्थानमा कार्यरत चालकको हकहित र संरक्षण, संवर्द्धनका लागि माग राख्दै आएको एशोसिएसनले सवारी दुर्घटनामा परि अङ्गअङ्ग भएका चालकहरुलाई राज्य तथा सम्बन्धित कार्यालयले नहेरेको अवस्था, कार्यालय प्रमुखको सरुवा हुँदा तथा निर्वाचन पश्चात स्थानीय तह, प्रदेश र केन्द्रले सवारी चालकहरूलाई जिम्मेवारीबाट हटाउने जस्ता कार्य भइरहेको र त्यस्तो कार्य गर्न नगराउन ज्ञापन पत्रमा माग गरिएको छ ।
नौ बुद्धे ज्ञापन पत्रमा प्रमुख विषय दरबन्दी रहेको छ । स्वीकृत दरबन्दी भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा सम्झौता गरि कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरूलाई स्वत स्थायी गरिनु पर्ने, अस्थायी, करार र ज्यालादारीमा कार्यरत सवारी चालक कर्मचारीहरूलाई एक पटकको लागि उमेर हद नलाग्ने गरि स्थायी र स्तर वृद्धि गर्ने व्यवस्था गरिनु पर्ने, सवारी चालक कर्मचारीहरूलाई नेपाल सरकारबाट उपलब्ध गराउनु पर्ने, मासिक महँगी भत्ता उपलब्ध गराउनु पर्ने, जोखिम तथा जीवन बीमाको व्यवस्था गरिनु पर्ने, सञ्चयकोष व्यवस्था गरिनु पर्ने ।
त्यसैगरी, बुदा नम्बर ६ मा स्वीकृत दरबन्दी भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरिरहेका चालक कर्मचारीहरूलाई सेवाबाट अवकाश हुँदा कम्तिमा सेवा अवधीको आधारमा उपदानको व्यवस्था गरिनु पर्ने, सरकारी तथा संस्थान सेवामा कार्यरत सावरी चालकहरूको अनिवार्य रुपमा बीमा गरिनु पर्ने, वर्षमा दुईपटक स्वास्थ्य परिक्षण तथा उपचारखर्चको व्यवस्था गरिनु पर्ने, चालक हरुलाई सार्वजनिक बिदा बाहेक मासिक २ दिन बिदाको व्यवस्था गर्नुका साथै उक्त बिदा सञ्चित रहेको अवस्थामा चैत्र महिनामाको सो रकम भुक्तानी गरिने व्यवस्था गरिनु पर्ने माग चालकहरूले राखेका छन् ।
सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन जिल्ला समिति झापाका अध्यक्ष गणेश नेपाल, महासचिव भुपाल तामाङ, सचिव खेमराज नेपाल, कोषाध्यक्ष लिला बास्ताकोटी, संस्थापक सल्लाहकार रोहित कोइराला लगायतले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन ।