31/10/2024
आज महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५औं जन्मदिवस हो । नेपाली साहित्य नक्षेत्रमा देवकोटा एक अमिट छाप बनिरहने छ ।
लक्ष्मीप्रसाद देवकोटा एक नेपाली कवि तथा साहित्यकार थिए। उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते 'लक्ष्मीपुजा'को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो। उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्।
देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
देवकोटाका केही प्रमुख कृतिहरू
१. कविता सङ्ग्रह: पहाडी पुकार ( वि. सं. २००५)•पुतली (बाल कविता)• वि. सं. २००९)• भिखारी ( वि. सं. २०१०) •सुनको बिहान ( वि.सं.२०१०) •छहरा (वि. सं. २०१२)• जन्मोत्सव र मुटुको थोपा ( वि.सं.२०१५) • मृत्युशैयाबाट ( वि. सं.२०१६) •चिल्ला पातहरू (मृत्युपश्चात प्रकाशित, वि.सं. २०२१) •गाइने गीतहरू (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४) •मनोरञ्जन (मृत्युपश्चात प्रकाशित, वि. सं. २०२४) • भावना गाङ्गेय (मृत्युपश्चात प्रकाशित, वि. सं. २०२४)• आकाश बोल्छ (मृत्युपश्चात् प्रकाशित, वि. सं. २०२५) • छाँगासँग कुरा (मृत्युपश्चात् प्रकाशित, वि. सं. २०२६), •लक्ष्मी कविता सङ्ग्रह ( मृत्युपश्चात प्रकाशित, वि. सं. २०३३) • लक्ष्मी गीत सङ्ग्रह (मृत्युपश्चात प्रकाशित, वि. सं. २०४०)
२.खण्डकाव्य : मुनामदन ( प्रकाशन वर्ष, वि. सं. १९९१) , राजकुमार प्रभाकर (वि. सं. १९९७), कुञ्जिनी (वि. सं. २००२), वसन्ती गीतीकाव्य(वि. सं. २००९), मैना (वि. सं. २००९), सुन्दरी जर्पिना (वि. सं. २००९), रावण जटायु युद्ध (वि. सं. २०११) , म्हेन्दु (वि. सं. २०१५), लुनी (वि. सं. २०२३), सीताहरण (वि. सं. २०२४), मायाविनि सर्सी (वि. सं. २०२४), नवरस कोश काव्य (वि. सं. २०२५), मैना ( पुन: सम्पादन वि. सं. २०३९)।
३.निबन्ध: आषाढको पन्ध्र(वि. सं. १९९३,शारदा), भलादमी, फूल, पहाडी जीवन, हाई हाई अङ्ग्रेजी, के नेपाल सानो छ, कला र जीवन, कल्पना, साधुको महात्म्य, निद्रा श्रीपञ्चमीको दिन वि. सं. २०१०, साँढे,मेरो पाल्पा तानसेन तर्फको यात्रा आदि ।